गठबन्धन आजको आवश्यकता हो : नेता कोइराला

 भदौ १२, २०७९ आइतबार १३:५७:५९ | रासस
unn.prixa.net

फाइल तस्बिर

माेरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आउँदाे चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको जिकिर गर्नुभएकाे छ । 

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताउनुभयाे । नेता कोइरालाले आउँदाे सङ्घीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो ।   

उहाँले कांग्रेसले २०७४ सालको चुनावमा सङ्घीय संसद् र प्रदेश सभामा विजयी भएका ठाउँ आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।   

नेता कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै नागरिकप्रति उत्तरदायी भएर उनीहरूकाे काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले नागरिकसँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले आउँदाे चुनावबाट देशमा दण्डहिनताको अन्त्य चाहेको धारणा राख्नुभयो ।   

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आउँदाे चुनावमा नागरिककाे घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आउँदाे चुनावमा पार्टीलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस मोरङका उपसभापति एवम् विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतका तिक्ततालाई हटाइ पार्टीका कार्यकर्ता एकढिक्का भएर चुनावमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

क्षेत्र नं ६ का सभापति देवराज तामाङ, प्रदेश सभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाईँ र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया