१ वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि बन्न सकेन

 भदौ १४, २०७९ मंगलबार १४:२९:५४ | रासस
unn.prixa.net

मनाङकाे ङिस्याङ गाउँपालिका ५ मुङ्जेमा मर्स्याङ्दी नदीमा निर्माणाधीन पुल । तस्बिर : रासस

मनाङ – हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । 

विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिमा रहेको दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत अहिलेसम्म पुल निर्माण हुनसकेको छैन ।

अहिलेसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार अहिलेसम्म सम्पर्कविहीन छ । यो पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत यो पुल अलपत्र अवस्थामा रहेको हो ।

समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । 

‘तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि डोजर ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले’, उहाँले भन्नुभयो, ‘यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट १० रुपैयाँमा एक किलोग्राम किनेको सामान गाउँमा पुर्‍याउन फेरि १० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।’

दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मर्स्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । यो पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल अहिलेसम्म पनि बन्न सकेको छैन ।

समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छ वटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर गाडी सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् । 

विसं २०७४ असार ८ मा दुई करोड २६ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गएको वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि अहिलेसम्म यसको म्यादसमेत थप भएको छैन । यो पुलका लागि तीन करोड ६९ लाख रुपैयाँ लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो ।

त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । नौ करोड रुपैयाँको लागतमा निर्माण गरिने पुल  बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरूले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताउनुभयो । 

‘कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिँदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो । तत्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् । 

ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिँदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर गाडी सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् । 

पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयासपछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । 

‘लामो समयदेखि काम नगरि सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ’, प्रजिअ आचार्यले भन्नुभयो, ‘भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही गर्न अगाडि बढ्नेछौँ ।’

ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको ठाउँमा पुल निर्माण नहुँदा गएको हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेसीसहर–चामे सडक खण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया