'जङ्कफुड' ल्याए विद्यालयले खाजा खर्च नदिने

 भदौ १५, २०७९ बुधबार १४:१३:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाग्लुङ – बाग्लुङको गौरीशङ्कर प्राविमा अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारमा बनाइएका खाना जङ्कफुड निषेध गरिएको छ । बाग्लुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो ।

यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेटलगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभाबी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । यो निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमितरूपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताउनुभयो । 

सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक १५ रुपैयाँ खाजा स्वरूप दिने व्यवस्था गरेको छ । ‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जङ्कफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरूपता गराउन नसकिने भएपछि यो निर्णय गर्नुपरेको हो’, गौतमले भन्नुभयो, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन ।’ विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ । 

अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताउनुभयो । ‘हरेक दिन फरक–फरक खाजा खुवाउन पनि सकिएको छ’, पौडेलले भन्नुभयो, ‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन् ।’ तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उहाँका अनुसार विद्यालयले हरेक आइतवार रोटी र तरकारी, सोमवार मकैभट्ट र मङ्गलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो । त्यस्तै बुधवार हलुवा पिठो, बिहीवार चना र शुक्रवार खट्टे घिउ खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताउनुभयो ।

कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा ८ को सिगानामा रहेको बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो । यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताउनुभयो । खाजाको क्यालेन्डर बनाएर नियमित घरघरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताउनुभयो । उनीहरूको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्याय प्रभावित भएको बताउनुभयो । ‘विद्यालयले राम्रो काम गरेको रहेछ’, उपाध्यायले भन्नुभयो, ‘खाजाको एकरूपता भएको छ, धनी र गरीबबीचको खाडल पनि पुरिएको देखियो ।’ मिठो मसिनो मात्रै पठउने र जङ्कफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उहाँले बताउनुभयो ।

विद्यालयले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा पनि एकरूपता ल्याएको छ । प्लास्टिकजन्य फोहर ननिकाल्ने, निस्केमा पनि उचित ठाउँमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताउनुभयो । ‘सुरुसुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’, गैरेले भन्नुभयो, ‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ ।’ 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया