गुणस्तरीय स्वास्थ्य सरकारकाे प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

 भदौ १८, २०७९ शनिबार १६:४२:३५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज शनिवार काठमाण्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताउनुभयो ।

‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्‍याउन काम गरिरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिएको उल्लेख गर्दै उहाँले चुनावमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सरकारले चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उहाँले बताउनुभयो ।

विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिनुभयो । त्यस अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केसी, लक्ष्मीराज पाठक र महासचिव डा. मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया