बाग्लुङ गलकाेटकाे घामपानी बस्ती पहिराेको उच्च जोखिममा

 भदौ २०, २०७९ सोमबार १०:५०:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ - निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराेको उच्च जोखिममा परेका छन् । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले घामपानीका सात घर पहिराेको जोखिमा रहेको बताउँदै ती घरका परिवारहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनु भएकाे हाे । 

'निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराेले बगाउन सक्छ, बस्ती पहिराेको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ', उहाँले भन्नुभयो ।

उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ–गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।

सयौँ रोपनी खेतसहित धानबालीमा क्षति

अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गएराति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्युटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । बाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोडभन्दा बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

'किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराेले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ', उहाँले भन्नुभयो, 'लोकमार्गको भ्युटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।'

स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराेले बगाएको छ । 'मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँ नै सकियो, अब कहाँ खेती गर्ने, के खाने ? धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो', उहाँले भन्नुभयो, 'खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।'

उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो । लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षति कमगर्न सकिने जनाइएको छ । 'सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को वर्ष खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्', उहाँले भन्नुभयो ।

अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति बेहोर्नुपरेको बताउनु भयाे । गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बाढीपीडितले तटबन्धनको माग गरेको बताउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।'

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया