लयमा फर्किँदै सौराहाको पर्यटन व्यवसाय

 भदौ २२, २०७९ बुधबार २०:२८:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको  छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले  धमाधम चाडपर्व लक्षित छुट प्याकेज घोषणा गरिरहेका छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय केही समययता तङ्ग्रिन थालेको र होटल, पव, रेस्टुरेन्टमा अचेल आन्तरिक पर्यटक झुम्न थालेका उहाँको भनाइ छ ।

चाडपर्व नजिकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले होटलबारे सोध्न थालेका र पर्यटक आउन सुरु भएकाले व्यवसायी उत्साही देखिएका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । ‘कोरोना महामारीले चितवनको मात्रै होइन, नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो’, उहाँले भन्नुभयो, ‘झन्डै दुई वर्ष हामीले होटल तालाबन्दी गरेर बस्नुपर्ने अवस्था आयो, अब अहिले बिस्तारै होटल सञ्चालन गर्दै आएका छौँ ।’ अहिले सौराहाका होटल पूर्णरूपमा सञ्चालनमा आएका जनाउँदै उहाँले विदेशी पर्यटक फाट्टफुट्ट मात्र देखिएको बताउनुभयो । उहाँले गएको वर्षमात्रै दुई लाख आन्तरिक र बाह्य पर्यटक सौराहा आएका जानकारी दिनुभयो । यस पटक पर्यटकको सङ्ख्या बढ्ने अनुमान थियो तर आर्थिक मन्दीलगायतका कारणले सोचेअनुसार हुँदैन कि भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो ।

पर्यटकको आगमन बढ्न थालेपछि देशमा चुनाव भएकाले पनि त्यसको असर र बर्खाका कारणले घटेका पर्यटक फेरि थपिन सुरु भएका उहाँको भनाइ छ । ‘अहिले पर्यटन क्षेत्रले बिस्तारै लय समात्न सुरु गरेको छ, अहिलेसम्म चहलपहल खासै नबढेको भए पनि अब चाडपर्व सुरु भयो पर्यटक बढ्छन् भनेर हामी ढुक्क छौँ’, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘बिस्तारै आन्तरिक र बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।’

सौराहामा कोभिडको बेला सुरु भएको छुटको अभियान अहिले पनि होटलको स्तर हेरेर २० देखि ४० प्रतिशतसम्म रहेको भट्टराईले जानकारी दिनुभयो ।  घुमौँ सौराहा अभियानलाई अहिले पनि निरन्तरता दिएको उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष योगेश अधिकारीले विदेशी पर्यटक आउने सिजन सुरु भए पनि पर्यटक नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिनियाँ पर्यटक नआएसम्म पर्यटन क्षेत्रले गति लिँदैन । केही समय भारतीय पर्यटक आए तर कोभिडअघि जस्तो पर्याप्त आएनन् ।’ उहाँले बर्खायाम र आर्थिक मन्दीका कारण पनि पर्यटक आउन नसकको वताउनुभयो । सौराहामा सभा सेमिनार भने क्रमशः हुन थालेको उहाँले बताउनुभयो । ‘दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै छ’, उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘अब आन्तरिक पर्यटकको आउने अपेक्षा राखेका छौँ ।’ 

सौराहामा शुक्रवार र शनिवार आन्तरिक पर्यटक आउने तथा अन्य दिनमा गोष्ठीलगायतका कार्यक्रम हुन थालेका व्यवसायी ध्रुव गिरीले बताउनुभयो । ‘अहिले पछिल्लो समय नेपाली युवा आउने गरेका छन्’, गिरीले भन्नुभयो, ‘विदेशबाट समेत होटलको बारेमा बुझ्ने र कोठा बुकिङ गर्न सुरु भइसकेको छ ।’ पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भइरहेको उहाँको भनाइ छ ।

यहाँ आउने धेरैजसो पर्यटक जङ्गल सफारी गर्न रुचाउँछन् । सौराहा आउने विदेशी पर्यटक जङ्गल सफारी तथा जीप सफारीमा रमाउने भए पनि नेपाली पर्यटक भने खाने पिउने गरी आउने हुनाले आन्तरिक पर्यटकले बढी खर्च गर्ने गरेका छन् । ‘कोभिड पछाडि हामीले होटल खोल्यौँ त्यसपछि नेपाली पर्यटक धेरै आउनुभएको छ’, व्यवसायी गिरीले भन्नुभयो, ‘विशेषगरी अहिले गुडफ्राइडे भन्ने प्रचलन सुरु भएको छ, त्यसैले पनि शुक्रवार र शनिवार सौराहामा राम्रै नेपाली पर्यटक आउने गरेका छन् ।’

सौराहामा गुडफ्राइडे भनेर आउनेमध्ये बढीमात्रामा युवा भएका जनाइएको छ । ‘किशोरावस्थाका आन्तरिक पर्यटक नेचरमा रमाउनभन्दा गुडफ्राइडे भनेर खाने, रमाउने, पिउने, इन्जोय गर्ने भन्ने हिसाबले बढी खर्च गर्ने गरेको देखिएको छ’, व्यवसायी गिरीले भन्नुभयो, ‘यहाँ आउने विदेशी भने जङ्गल ड्राइभ, जीप सफारी रमाउने गरेकामा नेपालीहरू भने फ्राइडेको दिनमा होलिडे मनाउन आएको भन्दै अलिकति बढी खर्च गर्ने गरेको हामीले पाएका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारी बन्द रहे पनि सामुदायिक वनमा जीप सफारी र अन्य गतिविधि भइरहेका छन् ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्नका लागिसमेत आकर्षित हुने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया