प्रदेश १ साक्षर घोषणा

 भदौ २३, २०७९ बिहिबार १६:३:११ | रासस
unn.prixa.net

माेरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो । 

प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले देशका लागि अबको शिक्षा जागिरेमात्र नभइ व्यावहारिक हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका लागि गर्ने धारणा व्यक्त गर्नुभयोे ।

सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्बे लगायतले शिक्षा देशको समृद्धिको महत्त्वपूर्ण मेरुदण्ड रहेको र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिनुभयो ।

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाइ प्रदेशलाई साक्षर घोषणा गरिएको हाे । प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् । 

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो । प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्बाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया