खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

 भदौ २७, २०७९ सोमबार ९:०:५० | रासस
unn.prixa.net

खोटाङ - जिल्ला अस्पताल खोटाङमा  शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलमा रहेकाे जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिरामी बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।

जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । 'एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ', उहाँले भन्नुभयो, 'दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले पाँच जनाको शल्यक्रिया गरिसक्यौँ । सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले काम गर्न मिल्दैन । अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो ।'

कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा. लामाले बताउनुभयो । 

जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । दश पालिका रहेको जिल्लामा २०७६ साल असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो । 

जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन् । जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन् । 

शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य बिरामीलाई काठमाण्डौ तथा तराईका सुविधासम्पन्न अस्पताल लैजानुपर्ने अवस्था सिर्जना भएको छ । काठमाण्डौलगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तीमा जिल्लामा २ लाख ५० हजार रुपैयाँसम्म खर्चेर हेलिकप्टर चार्टर्ड गर्ने गरिएको छ । 

आर्थिक अवस्था बलियाे भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर्ड गरेर अस्पताल पुग्छन् तर, आर्थिक रुपमा कमजोर भएका परिवार उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । हेलिकप्टर चार्टर्ड गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएका घटनासमेत रहेका छन् ।

आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकप्टर नै चार्टर्ड गर्नुपर्ने अवस्था रहेकाे छ । स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकप्टर चार्टर्ड गर्नुपर्ने अवस्था आउने त्रासमा हुनेखाने परिवार बसाइँ सरिकेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐँसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीहरु बस्दैनन् । 

२०४८ सालमा १५ शय्या क्षमतामा स्थापना भएको अस्पताललाई गएकाे आर्थिक वर्षबाट ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ । स्थापना भएको ३१ वर्षसम्म स्तरोन्नति नभएको यस अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि सरुवा भएर आएका चिकित्सक भौतिक पूर्वाधार अभाव कारण बस्दैनन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया