तत्कालीन प्रधानमन्त्री सुशील काेइराला, ओली र प्रचण्डले संयुक्त शिलान्यास गरेकाे सभा गृह अलपत्र

 भदौ २७, २०७९ सोमबार १५:४५:३० | रासस
unn.prixa.net

झापा – गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्षअघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको जीपी स्मृति सभा गृह अलपत्र छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विसं २०७२ असार २८ गते भद्रपुर नगरपालिका ८ मा सभा गृहको संयुक्त शिलान्यास गर्नुभएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभा गृह सात वर्षसम्म पनि अधुरै छ । सदरमुकामको मध्यभागमा काँसघारीले घेरेको अधुरो भवन अस्थिपञ्जरजस्तो देखिन्छ । सङ्घीयता कार्यान्वयन हुने क्रममा जिल्ला विकास समितिलाई समन्वय समितिमा रूपान्तरण गर्दा यो सभा गृह परियोजना पालिका, प्रदेश र सङ्घीय सरकारमध्ये कसैलाई पनि हस्तान्तरण गरिएन । अधिकारविहीन अवस्थाको जिससले सभा गृह निर्माणको ठेक्काको म्याद थपेर काम अघि बढाउन अझ सकेको छैन ।

झापा सदरमुकाम चन्द्रगढीमा सभा, सम्मेलन तथा कार्यक्रम गर्न सुविधा सम्पन्न एउटा पनि सभा गृह नभएपछि प्रमुख राजनीतिक दलहरूको पहलमा जीपी सभा गृह बनाउने निर्णय गरिएको थियो । मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा सभा गृहको निर्माण सुरु गरिएको हो । निर्माणाधीन जीपी सभा गृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा शटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभा हल बनाउने योजना थियो ।

तत्कालीन झापा जिल्ला विकास समितिले सभा गृह निर्माणका लागि १२ करोड ७२ लाख ६९ हजार रुपैयाँमा ठेक्का लगाएको थियो । सभा गृह अत्याधुनिक सुविधायुक्त र देशकै गौरवको परियोजना हुने शिलान्यास कार्यक्रममा बताइएको थियो । निर्माणको ठेक्का प्रेरा–शाह जेभी निर्माण कम्पनीले पाएको छ । प्रदेश नं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी जीपी स्मृति सभा गृह राजनीतिक पूर्वाग्रह राखेर रोकिएको आरोप लगाउनुहुन्छ ।

‘सुशील कोइराला प्रधानमन्त्री हुँदा शिलान्यास भएको यो सभा गृहको निर्माण कार्य चलिरहेका बेला सरकार परिवर्तन भयो’, मन्त्री सरावगी भन्नुहुन्छ, ‘अहिले नेपाली कांग्रेसको सरकार भएकाले अब बनाउँछौँ ।’ राजनीतिक कारणले नभएर प्राविधिक र कानुनी उल्झनका कारण जीपी स्मृति सभा गृहको निर्माण कार्य अलपत्र परेको नेकपा एमालेका नेता एवम् झापा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले दाबी गर्नुभयो । जिससका निवर्तमान प्रमुख पोर्तेलले भन्नुभयो, ‘राजनीतिक कारणले होइन, कानुनी र प्राविधिक उल्झनले परियोजनाको निर्माण कार्य रोकिएको हो ।’ सभा गृह निर्माणको म्याद थप्ने अधिकार पाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय नगरिदिँदा जीपी स्मृति सभा गृहको काम रोकिएको उहाँको भनाइ छ ।

पोर्तेल विसं २०७४ मा जिसस झापाको प्रमुख निर्वाचित भएर आउनुअघि नै भवन निर्माण रोकिइसकेको थियो । निर्माण कार्यको म्याद थपिदिन वा जिससलाई इन्जिनियरको दरबन्दीसहित प्राविधिक क्षमतायुक्त बनाउन मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । जिसस झापाका निमित्त स्थानीय समन्वय अधिकारी सन्तोष श्रेष्ठले म्याद नथपी निर्माणको कुनै भुक्तानी दिन कानुनीरूपमा नमिल्ने भएकाले अझै पनि काम अघि बढाउन कठिनाइ भएको बताउनुभयो । ठेक्का पाएको प्रेरा–शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले झन्डै तीन करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दाबी गरे पनि कति प्रतिशत काम बाँकी छ भन्ने कुनै आधार प्रमाण नभेटिएको उहाँले बताउनुभयो । ‘जिसससँग इन्जिनियर नै छैन, कामको कति प्रगति भयो भनेर प्राविधिक मूल्याङ्कन गर्न सकिने अवस्था रहेन’, उहाँले भन्नुभयो, ‘कानुनीरूपमा अब यो सभा गृह जीवित छैन, जिससको नियन्त्रणमा हुने कुरै भएन ।’ 

निर्माणको म्याद सकिएसँगै निर्माण व्यवसायी पक्ष परियोजनाबाट पछि हटेको छ । राजनीतिक सरकार परिवर्तन र कानुनी उल्झन उत्पन्न भएकै बेला निर्माण व्यवसायीले काल्पनिक प्रगति विवरण देखाएर कामभन्दा बढी रकम भुक्तानी लगेको बताइएको छ । ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको सभा गृह निर्माणमा लापर्बाही भएको भनेर जनगुनासो बढ्दै गएको बेला जिल्ला समन्वय समिति झापाले कानुनी अड्चन हटाएर अधुरो भवनलाई पूर्णता दिन पहल सुरु गरिसकेको जनाएको छ ।

जिसस प्रमुख विश्व बराल सभा गृहको निर्माण ठेक्काको म्याद थपी समस्याको समाधान गरिनुपर्ने माग लिएर अहिले सिंहदरबार जानुभएको छ । ‘जे जे गर्दा समस्याको गाँठो फुकेर काम बन्छ, त्यही पहलका लागि काठमाण्डौ पुगेको छु’, बरालले भन्नुभयो, ‘तीन जना पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्नुभएको गौरवको परियोजना भएकाले जीपी सभा गृहको निर्माण पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’ 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया