साल्ट ट्रेडिङले दशैँअघि नै तोरीको तेल उत्पादन गर्ने

 भदौ २७, २०७९ सोमबार १७:७:४० | रासस
unn.prixa.net

काठमाण्डाै – दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेल उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडाकाे नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । 

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो ।   

कर्पोरेशनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ ।   

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले आठ अर्ब ५८ करोड रुपैयाँको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४/७५ मा नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा आठ अर्ब २५ करोड, आव २०७६/७७ मा नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३९ करोड रुपैयाँको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।   

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उहाँको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । कर्पोरेशनले आव २०७७/७८ मा मात्रै पाँच करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गएकाे आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो । 

कर्पोरेशन ६० औँ वर्षमा 

सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा उपभाेक्तालाई सहजरूपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ । कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ । 

६० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमुना संस्था बनाउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको बताउनुभयो ।   

आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसाबले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उहाँको भनाइ छ । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई दुई वर्षसम्म मासिक तीन हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया