माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

 भदौ २८, २०७९ मंगलबार १३:३:० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लीले भेटवार्ता गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्सु सोमवार काठमाण्डौ आइपुग्नुभएको हो ।

सोमवार नै सभामुख सापकोटा र अध्यक्ष लीबीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । अध्यक्ष लीले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । अध्यक्ष लीले यही भदौ २९ गते बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीवार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया