भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

 भदौ २९, २०७९ बुधबार २०:२४:३१ | रासस
unn.prixa.net

भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । 

स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर  बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा(पाटीको नाम)तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ । दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः(मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ  ।

यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानीयवासीले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखेर तयार गरिएको पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडि तीन पटक घुमेर जात्रा सुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयवासीले छ्वाली बालेर अगाडि जाने चलन छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहाेर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् । 

जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ । मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ ।
    
देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया