ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

 भदौ ३१, २०७९ शुक्रबार २०:३४:२ | रासस
unn.prixa.net

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले सानामात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । 

आयोगको कार्यालय हेटौँडाले आज शुक्रवार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उहाँले ललिता निवासको जस्तै धेरै मुद्दाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्त्वपूर्ण अनुसन्धान भइरहेको उहाँको भनाइ थियो । मधेस प्रदेशको साइकल खरिद प्रकरणलगायत महत्त्वपूर्ण अनुसन्धान आयोगले गरिरहेको सिलवालले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन २०५९ मा बनेको भन्दै उहाँले संशोधन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार निवारण ऐन २० वर्षसम्म जस्ताको तस्तै त्यहीँ ठाउँमा रहेको छ ।’ सिलवालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिनुभयो । पालिकाका प्रमुख, उपप्रमुख एवम् भ्रष्टाचार निवारणका क्षेत्रमा काम गरेका सङ्घ संस्थाका प्रतिनिधि एवम् सहभागीले राखेका जिज्ञासाको उहाँले जवाफ दिनुभएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले ऐन कानुन सबैलाई समान भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समाजका सबै तह र तप्काको सहयोगविना भ्रष्टाचार निबारण गर्न नसकिने बताउनुभयो । त्यस अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँँडाका प्रमुख नरहरि घिमिरेले भ्रष्टाचारका कारण, असर, लागत, आयोगसम्बन्धी संवैधानिक व्यवस्था, काम कर्तव्य, अधिकारलगायत विषयमा कार्यपत्र पेस गर्नुभएको थियो । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गलत नीतिका कारण भएका नोक्सानको सुनुवाइ गर्ने निकाय नहुँदा नीजि क्षेत्र प्रभावित बनेको बताउनुभयो । कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखले काम गर्दा भए गरेको अफ्ठ्याराका विषयमा प्रश्न गर्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया