मोबाइलमा आएकाे सन्देशले बचायाे

 असोज २, २०७९ आइतबार १५:५२:६ | रासस
unn.prixa.net

बाढी पसेपछि कञ्चनपुरकाे वनहरा शिविर

कञ्चनपुर – भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो । 

रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त्यसमा लेखिएको थियो, ‘पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आइ खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ’, रावतले मोबाइलमा आएको सन्देश पढ्नुभयो ।

सन्देश पढ्नासाथ सँगै सुतेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाउनुभयो । ‘सन्देशमा भने झैँ ठूलो पानी परिरहेको थियो’, रावतले भन्नुभयो, ‘बाहिर हेरेँ, वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाई सँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाएँ र सबै जना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।’  

नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ । ‘शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो’, गौरे दमाईंले भन्नुभयो, ‘सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।’  

उहाँले रातिको समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाउनुभयो । ‘पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन, जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो’, उहाँले भन्नुभयो, ‘वनको माथितर्फ लाग्यौँ, त्यति बेला शिविरका अरू पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ ।’ 

उहाँ अहिले पनि शिविरमा फर्केर जान डराउनु हुन्छ । पानी परेपछि अझै पहिलाजस्तै बाढी आउने डर उहाँको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउनुहुन्छ ।

‘डोरीको खटियामा सुतेका थियौँ’, उहाँले भन्नुभयो, ‘झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन ।’

रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नुपरेको दुखेसो उहाँले पोख्नुभयो । शिविरकी कलावती दमाईंको झोपडी बाढीले बगाउँदा एकसरो लुगामै हुनुहुन्छ । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उहाँले बताउनुभयो । 

‘शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईवस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो’, स्थानीयवासी दलबहादुर बोहराले भन्नुभयो, ‘झोपडीमा सुतेकालाई उठायौँ र भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ ।’ 
    
शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उहाँ बताउनुहुन्छ । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उहाँले बताउनुभयो । 

विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्न सक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका ११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ ।
शिविरमा २८ परिवारको बसोवास रहेको छ । शिविरका बस्दै आएकालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोवास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् ।
 
‘नदी छेउको शिविरमा जुनसुकै बेला अझै पनि विपद् आउन सक्ने भएकाले सुरक्षित स्थानमा बसोवबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ’, मानध्वज लुहारले भन्नुभयो, ‘कसैले सुनेनन्, अब त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यस पटकको विपदबाट मोबाइलमा आएको सन्देशले बचायो । अर्कै पटक विपद् आए के हुने हो थाहा छैन ।’ 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया