कैलाली बाढी :  सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

 असोज ३, २०७९ सोमबार १०:२:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

कैलाली - कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीमा रहेकाे हुलाकी सडकमा  दुई वर्षमुनिका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनुभयो । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । 'आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु', उहाँले भन्नुभयो, 'पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।'

दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । 'घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ', उहाँले भन्नुभयो, 'यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।'

अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनुभयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उहाँको बच्चालाई रुघाखोकी सुरु भएको छ । 'घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो', उहाँले भन्नुभयो, 'लौ न सरकार भएको महसुस गराइदिनुपर्यो । हामी त बर्बाद भयौँ ।'  

 भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिवार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । 'हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ', उहाँले भन्नुभयो, 'लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।'

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै त्याे दिन खटिसकेका जानकारी दिनुभयो । 'हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ', उहाँले भन्नुभयो, 'यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।'

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनुभयो । 'सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ', उहाँले भन्नुभयो, 'महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।'

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया