ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कैलाली - कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिवार आएको बाढीले सयौँ परिवार बस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ बस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।
बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको ज्यान गयाे । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर ज्यान गयाे ।
बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र बस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने बस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।
भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक बस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका बस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, बस्तुभाउलाई के खुवाउने तनाव भएको छ । 'बस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो', उहाँले भन्नुभयो, 'अब आफू पनि भोकै, बस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।'
वडा नं ८ कै शान्तिदेवी चौधरी पनि बस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो । वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार बस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । बस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । 'प्रायजसाेका बस्तुभाउ पनि सडकमै छन्, सबैलाई बस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ', उहाँ भन्नुहुन्छ, 'हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर बस्तुभाउलाई के खुवाउनु?'
शनिवार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि बस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घाँसपातसमेत नष्ट भएको छ । यसले बस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।
खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका बस्तुभाउको आहारामा समस्या भएको छ । 'पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन', उहाँले भन्नुभयो, 'सम्पत्तिका नाममा बचेका यी बस्तुभाउ हुन्, बस्तुभाउ पनि भोकले मर्ने भए ।'
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुबस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । 'हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ', उहाँले भन्नुभयो, 'पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।'
पशु शाखा प्रमुख जैसी आजदेखि पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । 'अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन', उहाँले भन्नुभयो, 'धेरै मानिसका बस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।'
भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।