‘आकाश हेरेर सुत्ने समय निधाे हुन्छ’

 असोज ४, २०७९ मंगलबार १३:३१:२४ | रासस
unn.prixa.net

बझाङ – खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाव बढेको दिन रातभर जाग्राम बस्नु उहाँको नियति नै हो ।

आइतवार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि जडारी खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो । 

‘एक्कासी राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निद्रा खुल्यो’, महादेव भन्नुहुन्छ, ‘राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।’  

त्यसपछि महादेवले गाउँलेलाई उठाउनुभयो । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुई बजेदेखि नै जाग्राम बस्नुपर्‍यो । ‘गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ’, महादेवले भन्नुभयो, ‘जडारी खोलाले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबै जना त्यतै जम्मा भएर रात बितायौँ ।’ 

खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतवार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ । हामीसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘दिनभर परेको पानीले जडारीगाडको बहाव बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।’ 

खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्लाबगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरु भएयता दैनिकी जस्तै हो । ‘पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन’, खातीले भन्नुभयो, ‘जडारीगाड नजिकैका बस्तीका लागि भगवान् भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर हाम्रो खातीगाउँमा भने गएको वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।’ 

गएको वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत् लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । ‘गएको वर्षको बाढी आउँदा हामी घरमै थियौँ’, उहाँ भन्नुहुन्छ, ‘दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।’

खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । ‘हाम्रो जमिन नै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन’, हर्कबहादुरले भन्नुभयो, ‘मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गएको वर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौँ ।’   

गएको वर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना हुनुहुन्छ । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै हुनुहुन्छ ।

‘कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ’, उहाँ भन्नुहुन्छ । अहिले खोलामा गड्याङगुडुङ सुरु हुने बित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । ‘तल्लाबगणमा १० परिवार छन्’, महादेव भन्नुहुन्छ, ‘राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।’ 

शुक्रवार पनि मध्य रातिदेखि नै नसुतेको उहाँले बताउनुभयो । ‘निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ’, उहाँले भन्नुभयो, ‘त्यो दिन पनि रातभर निद्रा नै लागेन । गएको वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । ‘गएको वर्ष बाढी आउँदा म त निद्रामै थिएँ’, गिरी भन्नुहुन्छ, ‘राति सुतेको बेलामा ११ बजेतिर एक्कासी डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।’

गिरीको पसल र खोला झन्डै एक सय मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । ‘त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो’, उहाँकी श्रीमतीले भन्नुभयो, ‘बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।’ जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् ।

खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्नुहुन्छ, ‘अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छाैँ ।’  

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागिपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्च सर्तकता अपनाउन भनेका छौँ ।’ 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया