काठमाण्डाै चाडपर्व सुरक्षा : घटना भएको ठाउँमा ५ देखि ७ मिनेटसम्म प्रहरी पुग्ने

३ हजारभन्दा धेरै प्रहरी परिचालन हुने

 असोज ४, २०७९ मंगलबार १८:८:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाण्डाैकाे सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजारभन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैले आज मङ्गलवारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना२०७९ लागू गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारीरूपमा सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनअनुसार कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराध न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।

काठमाण्डाै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाण्डाैको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

चाडपर्वको समयमा काठमाण्डाैकाे मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाण्डाै प्रवेश गर्ने नाकामा सीसीटीभीबाट मनिटरिङ गर्ने, ड्रोनबाट तस्बिर लिइ सुरक्षा प्रदान गर्ने, अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गर्ने, प्रहरी एप्सको प्रयोग गरिने प्रवक्ता मैनालीले बताउनुभयो ।

यस्तै काठमाण्डाैभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन गरिने, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउन्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमान्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एन्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।

यसैगरी १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी–कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सीआरबी परिचालन, ६ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया