मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्

 असोज ६, २०७९ बिहीबार १२:४१:५१ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

मनाङ - हिमाली जिल्ला मनाङका प्रायजसाे विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । 

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासोँ गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईँले जानकारी दिनुभयो । 'भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिनासाथ विद्यालय रित्तिने गरेका छन्', उहाँले भन्नुभयो ।  

मनाङमा बाढी पहिराेको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईँले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो । 

जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । 'विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन', चपाईँले भन्नुभयो, 'केही विद्यालयमा ईसीडीका विद्यार्थी छन् ।' बाढीपहिराेको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखेर पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो । 

जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कुल ५ सय ४५ विद्यार्थी तथा १ सय ६१ शिक्षक रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया