हुम्ला जिल्ला अस्पताल : बत्ती जाँदा टर्च बालेर अप्रेशन गर्नुपर्ने बाध्यता

 असोज ६, २०७९ बिहीबार १३:४४:६ | रासस
unn.prixa.net

हुम्ला - विद्युत् सेवा अवरुद्ध हुँदा हुम्ला जिल्ला अस्पतालमा रातको समयमा शल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता रहेकाे सेवाग्राही बताउँछन् । 

१५ शय्याकाे यस जिल्ला अस्पतालमा विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशामा पुगेका बिरामीले झन् बढी सास्ती खेप्नु परेको छ । 

नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गरेका छन् । पाँच सय किलोवाट क्षमता भएको जलविद्युत् आयाेजनाले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राही समस्यामा परेका हुन् । 

केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताउनुभयो । 'केही दिनअघि विद्युतकाे नहर मर्मतका लागि विद्युत् आपूर्ति बन्द गरिए पनि लगातारको वर्षाले नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ,' उहाँले भन्नुभयो, 'मर्मत गर्ने भनेर कर्मचारी खटाइ काम सुरु गरिए पनि वर्षाले समस्या निम्त्याएकाले सेवाग्राहीले अझै केही समय अध्यारोमा रात कटाउनुपर्ने अवस्था छ ।'

विद्युत् नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्यम रेडियोले समेत सास्ती खेप्दै आएका छन्  । 

टर्च बालेर उपचार

जिल्ला अस्पतालमा मङ्गलवार राति ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले लाइट बालेर उपचार गराए । प्राधिकरणले  मर्मतका लागि विद्युत् सेवा बन्द गरेपछि सघन उपचार कक्षलगायत अस्पतालमा भर्ना भएका बिरामीले यस्तो समस्या भोग्नुपरेको हो ।

जिल्ला अस्पतालमा आउने बिरामीले पनि प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीकाे छ । 

रातिको समय विद्युत् नहुँदा सघन उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन कठिनाइ छ । अस्पतालमा जडान भएको सोलारले घाम नलागेको समयमा काम नगरेका कारण रातभर लाइट बालेर बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता भएको हो । विद्युतबाट हुने सेवा दिन नसकिए पनि अन्य सेवा भने  लाइट बालेर दिनुपर्दा बिरामीले गुनासो गर्ने गरेका छन् ।

यस्तै विद्युतको अभावमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, ड्युटीमा खटिएका स्वास्थ्यकर्मी अँध्यारोमा बस्नु परेकाे, बिरामीलाई  दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया