पहिराे गएपछि देवघाट वेणीसङ्गम जाने बाटो बन्द

 असोज ६, २०७९ बिहिबार २०:२३:१७ | रासस
unn.prixa.net

काठमाण्डाै - हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराेको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिराे जान थालेपछि देवघाटधाम जोखिममा परेको । 

विनाशकारी भूकम्प पश्चात पहिराे जान सुरु भएको देवघाटधाममा पटकपटक पहिराे खस्दै आएको छ । देवघाटको वेणीसङ्गम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुक्खा पहिराे जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ । 

पुनः आज बिहान गएको सुक्खा पहिराेका कारण वेणी सङ्गममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष वद्रिप्रसाद अधिकारीले जानकारी दिनुभयो । 'माटो निरन्तर खसिरहेको छ', उहाँले भन्नुभयो, 'मानवीय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ ।' देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङसहितको पक्की संरचना नै पहिराेले भत्काएर त्रिशूलीमा पुर्याएकाे अधिकारीले बताउनुभयो । 

सोह्र श्राद्धको समयमा देवघाटमा श्राद्ध गर्न आउने भक्तजनलाई समस्या भएको उहाँले बताउनुभयो । उहाँले पहिराे ठूलो खसेको र यसको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग बजेटका लागि आग्रह गरिएको बताउनुभयो । 

त्रिशूली नदीको किनारमा चट्टानी ढुङ्गा भए पनि माथिल्लो तहमा बलौटे माटो हुँदा यहाँ पटकपटक पहिराे जान थालेको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताउनुभयो । यो बाटो हुँदै दैनिक सयौँ तीर्थयात्री वेणीसङ्गम जाने गरेकोमा अब व्यवस्थित मर्मत नगरेसम्म सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । देवघाटमा रहेको गलेश्वर आश्रमसहित यहाँको पुरातात्विकस्थल संरक्षणमा सबैको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।  

पहिराे नियन्त्रणका लागि चितवनबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय सांसद र नेतालाई अनुरोध गर्दा पनि उनीहरुले कुनै चासो नदिएको गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बताउनुभयो । 'आश्रमको कम्पाउण्डसम्मै पहिराे आइसक्यो', उहाँले भन्नुभयो, 'रातमा ठूलो पानी आउँदा हामीलाई पनि निन्द्रा नलाग्ने भइसक्यो ।'

देवघाटधामको इतिहास बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उहाँको गुनासो छ । पाँच वर्षअघि लाखौँ खर्च गरी डीपीआर निर्माण गरिएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया