बुढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै

 असोज ७, २०७९ शुक्रबार २०:४५:३३ | रासस
unn.prixa.net

तस्बिर : रासस

झापा - दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढाे र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ मा रहेकाे सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।

गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिनसमेत थालेको बताउनुभयो ।

हल्दिबारी गाउँपालिका बस्नुहुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा अहिले ६ सय ५० वटा गाई रहेको उहाँले जानकारी दिनुभयो । 'गौशाला त सुरु गरियो गाई भएनन्', भारद्वाजले भन्नुभयो, 'गाउँ बस्ती, टोल, सामुदायिक सङ्घसंस्थालगायतका ठाउँमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बुढाे, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैँ ल्याइदिनुहुन्छ।' 

२०७५ सालपछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वजले बताउनुभयो । हिजो बुढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरिब, दुःखीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकामा खुसी व्यक्त गर्नुहुन्छ । उहाँले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरु उत्पादन गरेको बताउनुभयो ।

अहिलेसम्ममा ७५ उन्नत जातका बीउ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको छ । 'कुनै किसानले बुढाे गाई हामीलाई दिनुभयो भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ', उहाँले भन्नुभयो, 'गरिब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ ।' भारद्वजलले गोठमा दैनिकजसो १५ देखि २० दुहुनो गाई हुने गरेको बताउनुभयो । 

गाईको दूधबाट गौशाला समितिले अहिले घिउ, पन्चगव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो एक हजार तीन सयमा रुपैयाँमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वज बताउनुहुन्छ । चरनमा गएका गाई दिउँसाे ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि अहिले २० गौसंरक्षक छन् । उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौले मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया