भेडापालनबाट झण्डै वार्षिक तीन लाख कमाइ

 असोज ७, २०७९ शुक्रबार १४:२:४४ | रासस
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थाल्नुभएको छ । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्कनुभएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरी विदेशमा भन्दा राम्रो कमाइ गर्न थाल्नुभएको छ ।

कोरोनाका कारण घर फर्कनुभएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा हुनुहुन्थ्यो । त्यत्तिकैमा आफ्नो पुर्ख्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उहाँको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिनुभएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्यो । 

अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेरसमेत मनग्य आम्दानी गर्न थाल्नुभएको छ । एउटै थुमालाई २० देखि ३० हजार रुपैयाँमा बेच्ने गरेको गुरुङले बताउनुभयो । खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उहाँ बताउनुहुन्छ । हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन् ।

गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पाल्नुभएको छ । परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उहाँले बताउनुभयो । 'घरखर्च कटाएर केही रकम बचत हुन्छ', गुरुङले भन्नुुभयो, 'अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।' गुरुङले भेडापालनबाट वार्षिक तीन लाख रुपैयाँ हाराहारीमा आम्दानी हुने गरेको बताउनुभयो ।

देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन् । गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उहाँ बताउनुहुन्छ । 'बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् ।' आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश नजान गुरुङ अरुलाई सुझाव दिँदैआउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया