ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कैलाली - आइतवार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहाेरा कैलालीको खानीडाँडामा भेटिनुभयो ।
साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दशैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उहाँले काठमाण्डौ/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताउनुभयो ।
'बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।' उहाँले भन्नुभयो, 'सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।' उहाँले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताउनुभयो ।
'एक लटमा ५०/६० लाख रुपैयाँसम्मको कारोबार पनि हुन्छ ।' उहाँले भन्नुभयो, 'दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।' उहाँले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग/अनुदान नरहेको दुखेसो पोख्नुभयो ।
'थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु ।' उहाँले भन्नुभयो, 'साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।' उहाँले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी बाेहाेरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बाेहाेराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताउनुभयो । 'समयमा पुर्याउन सके राम्रै खपत हुन्छ ।' छपन्न भेडा लिएर पोखरा हिँडेका उहाँले भन्नुभयो, 'हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।'
त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दशैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौँ भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाण्डाैलगायतका बजारमा बिक्री गर्नु उहाँको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दशैँको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।
पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा/च्याङ्ग्रा पोखरा पुर्याइसकेका छन् । उहाँको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । 'दशैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ', पूर्वअध्यक्ष धामीले भन्नुभयो, 'बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।' फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उहाँले भन्नुभयो ।
उहाँका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य २० देखि २५ हजार रुपैयाँ पर्छ । 'साइपालमा २०/२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा ४०/४५ हजार रुपैयाँ पर्छ', उहाँले भन्नुभयो, 'बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गएकाे वर्षजस्तै भए निकै घाटा हुन्छ ।' गएकाे वर्ष उहाँको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उहाँले सुनाउनुभयो ।
गएकाे वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताउनुभयो । अहिले धामीको टोलीले दार्चुलाबाट २ सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गएकाे हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन् ।
त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहाेरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उहाँले बिक्री सुरु गरेको जानकारी दिनुभयो । 'हिजो १६ च्याङ्ग्रा बिक्री गरेँ ।' उहाँले भन्नुभयो, 'यस पटक दुई ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।