आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन्छौँ : स्वास्थ्य मन्त्री खापुङ

 असोज १०, २०७९ सोमबार २०:२३:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको दाबी गर्नुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज सोमवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।

सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनै तहका सरकार मानव स्वास्थ्य उपचारका लागि संवेदनशील छन् ।’

स्वास्थ्य बीमामा सबैलाई आबद्ध गराउने गरी काम भइरहेको भन्दै उहाँले अस्पतालको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि आफूहरू तातो लगाइरहेको बताउनुभयो । सरकार क्यान्सर पत्ता लगाउने पेट स्क्यान मेशिन खरिद गर्ने प्रक्रियामा रहेको भन्दै मन्त्री खापुङले भन्नुभयो, ‘सबैभन्दा धेरै जनताले सेवा पाउने अस्पतालमा पेट स्क्यान मेशिन राख्ने हो ।’ यो क्यान्सर अस्पताल देशकै महत्त्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाता ऐन बनाएर प्रतिष्ठान बनाउनुपर्छ ।’ क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उहाँले यसै अस्पतालमा पेट स्क्यान मेशिन ल्याउनु पर्नेमा जोड दिनुभयो । 

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेर अनुभव संगाल्नुभएका श्रेष्ठले भन्नुभयो, ‘क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछ, त्यसैले पेट स्क्यान मेशिन यही राख्नुपर्छ ।’ 

कार्यक्रममै अस्पतालमा कुरुवा घर निर्माणमा आर्थिक सहयोग गर्ने भीम पाठक र अस्पतालका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया