अरनिको र वीपी राजमार्गकाे काभ्रे खण्डमा टिपर चलाउन नपाइने

 असोज १४, २०७९ शुक्रबार १२:१४:२४ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काभ्रेपलाञ्चोक - दशैँमा गाडी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेकाे दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक गाडीका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौबाट दशैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न याे निर्णय गरिएको हो ।

दुई राजमार्गमा दैनिक दुई हजार पाँच सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । 'अन्य सार्वजनिक गाडीमा दुर्घटना न्यूनीकरणका टाइम कार्ड लागू गरेका हौँ', पाण्डेले भन्नुभयो । कार्यालयका अनुसार टाइम कार्ड लागू गरिएका रुटमा वीपी राजमार्गअन्तर्गत मङ्गलटार–भकुण्डे १८ किमी दूरीका लागि ४० मिनेट, भकुण्डेबेसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीका लागि ३५ मिनेट, अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमी दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ।

अरनिको राजमार्गभन्दा वीपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै गाडीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा गाडी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउने जाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले हिजाे बिहीवार छलफल गरेका हुन् । 

छलफलमा सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड–१९ को मापदण्ड पालना गराउन सचेत गराउनेसमेत निर्णय भएको जनाइएको छ । यस्तै सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, गाडीमा स्यानिटाइजर अनिवार्य राख्ने, यात्रुलाई सकेसम्म सामाजिक दूरी कायम गर्न सुरुमै जानकारी गराउने, गाडीको जाँच गरेरमात्रै चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ।

सार्वजनिक गाडीले यात्रुलाई भाडामा अनियमितता गरेमा वा अन्य केही समस्या भएमा जिल्लाको नाै ठाउँमा स्थापित यात्रु सहायताकक्ष र प्रहरीको हटलाइन नम्बरमा जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ। 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया