बेनी–भकिम्ली सडक चार महिनापछि सञ्चालनमा

 असोज १५, २०७९ शनिबार १०:३:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी - गएकाे जेठ अन्तिम हप्तादेखि पहिराेका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराेका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रवारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने ठाउँमा पहिराेले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । 'अब ठूला गाडी पनि नियमित आवतजावत गर्न मिल्छ, बाटो अवरुद्ध हुँदा भकिम्लीवासीले धेरै सास्ती खेप्नुपरेको थियो', भकिम्लीका युवा याम घर्तीमगरले भन्नुभयो ।

उहाँका अनुसार बर्खा लागेपछि केही समय मोटरसाइकल मात्रै आवतजावत गर्ने बाटो बनाइए पनि लगातारको बाढीपहिराेले बगाएपछि भकिम्लीवासीले पैदल मार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो । पहिराेले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका छन् । बेनीनगरपालिका र स्थानीयले श्रमदान गरेर खोल्ने प्रयास गरे पनि असफल भएपछि अलपत्र अवस्थामा रहेको सडक मर्मत सम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो ।

गएकाे वर्ष ढलानसहितको सडक पहिराेले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिराेले हलेगौडासहित आसपासका क्षेत्रका बस्ती जोखिममा परेको छ । भकिम्ली हुँदै बाग्लुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडक खण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले यस सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।

करिब ७ सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि याे ठाउँ सधैँ जोखिम बन्दै गएकाले अहिले मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

'नयाँ ट्रयाक खुले पनि केही ठाउँमा पहिराेले बर्सेनि सताउने गरेको छ, मर्मतपछि स्थानीयलाई घुमाउरो र वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ', अध्यक्ष पुनले भन्नुभयो । एक वर्ष अगाडि ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि यस मार्गमा नियमित जसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको सर्भे भएको थियो । यो सडक विस्तार, स्तरोन्नतिमा स्थानीयको चन्दा श्रमदान रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया