समयमै भत्ता नपाउँदा दशैँमा पनि हात रित्तै

 असोज १९, २०७९ बुधबार १३:२०:१८ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ – बाग्लुङमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । पालिकामार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बाग्लुङका प्रायजसो वडामा वितरण भएको छैन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।

‘मेरो त दशैँ खर्च नै त्यही भत्ता हो तर आएन’, जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भन्नुभयो, ‘बर्सेनि यस्तै गर्छन्, दशैँमा सधैँ हात खाली हुन्छ ।’ पाध्या परिवारको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उहाँहरू दम्पत्ति नै वृद्ध हुनुहुन्छ भने एकमात्रै छोरा बाबुराम अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । ज्याला मजदुरी गरेर खाने अवस्था परिवारका कसैको पनि छैन ।

जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दशैँ बिदाअघि लक्षित समूहका हातमा पुर्‍याउन कठिन रहेको बताएको छ । यहाँका अन्य पालिकाले पनि दशैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब, भत्ता बैंक खातामा जम्मा गरेका थिए ।

बाग्लुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैँ बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैँका लागि खुद्रा पैसा बनाउने र दशैँ खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बाग्लुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरिकको दशैँ खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दशैँ मनाउन लागेको बताउनुहुन्छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया