बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या १६ पुग्याे, ९ जनाको सनाखत

 असोज २०, २०७९ बिहिबार १६:३८:३५ | रासस
unn.prixa.net

बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जमा बस दुर्घटनामा परि ज्यान गुमाएका नौ जनाको सनाखत भएको छ । बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ । 

हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको वीरगञ्ज १६ का सकेमप्रसाद चौरसिया रहेका एसपी गौतमले जानकारी दिनुभयो । 

यसैबीच बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेकाे पुरानो मेडिकल कलेज लगिएको छ । मकवानपुरकाे हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

बसमा चढ्ने यात्रुको सङ्ख्या यकिन हुन नसके पनि झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया