मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी, ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

 असोज २१, २०७९ शुक्रबार १५:५३:४० | रासस
unn.prixa.net

गुल्मी – पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी देशमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । 

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहनुभएको छ । उहाँको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुहुन्छ । उहाँले खाडी देशमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउनुहुन्छ । 

उहाँले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पुर्‍याउनुभएको छ । उहाँले गएको जेठदेखि  भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गर्नुभएको हो । उहाँसँग गुल्मीका पालिकासँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङका किसानले बिरुवाहरू खरिद गर्नुभयो । 

उहाँसँग अहिले ३१ लाख रुपैयाँ बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँस छन् । उहाँले एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ । त्यो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नैको हो भने बाँकी ४० रोपनी लिजमा लिनुभएको छ । बिहानदेखि बेलुकीसम्मको समय खेतबारीमा बिताउने गोकर्णले घाँस खेतीसँगै बाख्रापालनसमेत गर्नुभएको छ । उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो । नेपालीले आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राख्नुभएको छ । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै ६ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउनुहुन्छ । 

रोजगारी सिर्जना

गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफूसँगै दिनभर अर्का एक र मौसमीरूपमा १०÷१२ गरी औसतमा दैनिक आठ जनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्नुहुन्छ । ‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्ण भन्नुहुन्छ । उहाँले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाहट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उहाँले झेलिरहनुभएको छ । 

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उहाँले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उहाँको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उहाँले बताउनुभयो । 

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरु गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउनुहुन्छ । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनुभएका गोकर्ण पेसाप्रति विचलित नभइ अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ ।

मोटरसाइकल बेचेर लगानी

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्नुहुन्थ्यो । केही गर्ने हुटहुटीले उहाँले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गर्नुभयो । उहाँले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बिउ तथा बिरुवा ल्याएर रोप्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल हुनुभयो । उहाँले यसलाई सफलताको रूपमा लिनुभएको छ । 

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो । ‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु’, गोकर्णले भन्नुभयो । घाँस खेती गरेर अन्य पालिकामा  निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिले हौसला दिएमात्र पनि पुग्ने उहाँको भनाइ छ । 

पागलको उपनाम पाएँ

ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । ‘सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन’, गोकर्णले भन्नुभयो । कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका उहाँले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउनुहुन्छ । ‘सुरुवाती चरणमा पागल भन्नेहरूले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ’, उहाँले भन्नुभयो ।

गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताउनुभयो । ‘वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्’, उहाँले भन्नुभयो, ‘दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।’ छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उहाँको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्ण बताउनुहुन्छ ।

हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उहाँ अरूलाई सुझाउनुहुन्छ । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ । ‘सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।’ श्रम गर्न हिच्किचाहट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उहाँले बताउनुभयो ।  

खेस्रामा पनि अब्बल गोकर्ण

गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रूपमा आफूलाई परिचितसमेत गराउनुभएको छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताउनुभयो ।

उहाँले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गर्नुभएको छ  । उहाँले खासगरी आफूलाई प्रेरणा मिल्ने व्यक्तिहरूको स्केच तयार गर्ने गरेको बताउनुभयो । गोकर्णले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उहाँहरूलाई उपलब्ध गराइसक्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०७९

तपाईको प्रतिक्रिया