यो दशैँमा पनि उडेन गुल्मीबाट जहाज

 असोज २४, २०७९ सोमबार १९:५७:१८ | रासस
unn.prixa.net

गुल्मी –  गुल्मीको रेसुङ्गा नगरपालिका–९ का यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यस पटकको दशैँमा पनि पूरा हुन सकेन । विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ । 

स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरि जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।

अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नभएकाेमा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो । ‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ’, पुनले भन्नुभयो, ‘अहिले पनि उडान नभएपछि अब यो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।’ 

उहाँहरू मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर भुक्काइएको वर्षाैँ भएको छ । चुनावको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुङ्गा विमानस्थल शिलान्यास गर्नुभएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ देखि विमानस्थलको नियमित काम सुरु भयो । 

रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैँसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आउनुभयो । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एअरको विमानले परीक्षण उडान भरेको थियो । 

अर्को वर्ष विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले केही असर गर्‍यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरूप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्शन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए । 

इन्जिनियर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् ।  

निर्माण सम्पन्न विमानस्थलको धावन मार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । ३५ करोड रुपैयाँ लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर परियारले बताउनुभयो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इन्जिनियर परियारको भनाइ छ । 

रेसुङ्गा विमानस्थलको संरचना पूर्णरूपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान सुरु नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापर्बाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगर प्रहरी खटाउने तयारी गरेको छ ।

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नका लागि आफूहरू आतुर रहेको बताउनुभयो । उहाँले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो । ‘गुल्मेलीको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ’, मेयर पन्थीले भन्नुभयो, ‘नियमित उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।’  

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा गुल्मेलीलाई राहत महसुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्युठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया