चितवनमा त्रिपालमुनि कैदीबन्दी

 असोज २७, २०७९ बिहिबार १०:२४:२ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

चितवन - चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएकाे छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको सहारा लिनुपरेको छ ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको सहारामा बिताउन बाध्य छन् । २ सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले ७ सय ७८  कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'कारागारमा अहिले कैदीबन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने रहेको छ ।' कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उहाँले बताउनुभयो। आचार्यले भन्नुभयो, 'विभागमा सबै जानकारी गराएका छाैँ । सबैतिर यस्तै समस्या हो ।' उहाँले थप्नुभयो, 'कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरणसमेत गरेका थियौँ । फेरि चाप बढ्न थाल्यो।'

 चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उहाँले जानकारी दिनुभयो । २ सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा ७ सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन् । चार जना नाबालिक रहेका आचार्यले जानकारी दिनुभयो ।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने  हुँदा कैदीबन्दीको सङ्ख्या दिनहुँ बढ्दै गएको आचार्यले बताउनुभयो । विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी सङ्ख्यामा कैदीबन्दी ल्याइन्छ । उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया