‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

 असोज २८, २०७९ शुक्रबार २०:१९:५४ | रासस
unn.prixa.net

रुपन्देही – ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ 

रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँडडुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन’, उहाँले भन्नुभयो ।

सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आउनुभयो । तर बैंक स्टेटमेन्टमा उहाँको खातामा पैसा छैन ।

गएको साउन महिनामा नयाँ घर बनाउने भनेर जब उहाँ बैंकको भैरहवा शाखामा पैसा निकाल्न जानुभयो, उहाँको खातामा ९० हजार रुपैयाँमात्र रहेको थाहा पाउनुभयो । यो अवधिमा उहाँले त्यो बैंकमा चार लाख रुपैयाँ जम्मा गरिसकेको बताउनुहुन्छ । अहिले उहाँ बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहनुभएको छ । 

सम्मरीमाई–५ रोइनिहवाका दयारामले पनि माछापुच्छ्रे बैंकको त्यो शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ जम्मा गर्नुभयो । उहाँको खातामा पनि त्यो पैसा छैन । खातामा पैसा नदेखिएपछि उहाँले बैंकमा निवेदन दिन जानुभयो तर बैंकले उहाँको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उहाँको गुनासो छ । 

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई ५ मा रहेको माछापुच्छ्रे बैंकको त्यो शाखारहित कार्यालयमार्फत सेवाग्राहीले जम्मा गर्नुभएको भौचर छ । तर उहाँहरूको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।

सेवाग्राहीले क्षमताअनुसार पाँच हजारदेखि १६ लाख रुपैयाँसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको झन्डै तीन करोड रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको उहाँहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उहाँहरूको माग छ । 

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राख्नुुभएको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्नुहुन्थ्यो ।

निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५ का वडाध्यक्ष श्रवण यादवले भन्नुभयो, ‘बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारबाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।’ वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशङ्कित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताउनुभयो । 

बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।’ सेवाग्राहीको दाबी सबै सत्य नभएको र एक करोड ३२ लाख रुपैयाँमात्र अनियमित भएको उहाँको भनाइ छ ।

त्यसैगरी बैंकका एजेन्ट निरञ्जन पाठकले भन्नुभयो, ‘यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बेला २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।’ एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उहाँले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताउनुभयो । यस सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया