आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

 असोज २९, २०७९ शनिबार १९:२९:३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न/गराउन निर्देशन दिनु भएकाे छ । शनिवार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनु भएकाे हाे ।

‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयुक्त थपलियाले भन्नुभयाे । आयोगले यस पटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टा भित्र स्पष्टीकरण सोध्न निर्देशन दिनु भयाे ।

उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेश नभएमा उम्मेदवारी रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यस सम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखी पठाउन उहाँकाे जोड थियो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको छ।आचारसंहिताको दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ उल्लेख गरिएको छ ।

उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भए बमोजिमको स्राेतबाट खर्च गरेको नगरेकोबारे आयोगले निगरानी गर्ने उहाँले बताउनु भयाे ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी गराउँदै कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाउन पनि आग्रह गर्नुभयाे ।

कास्की जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलको अध्यक्षतामा बसेको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला आचारसंहिता अनुगमन समितिका सह–संयोजक टेक बहादुर केसी, सदस्य प्रहरी उपरीक्षक अजय केसी, उप–अनुसन्धान निर्देशक मनोज ढकाल,  अनुगमन अधिकृत रामजी शर्मा र सदस्य सचिव हुमनाथ पराजुली लगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया