प्रेरणाका पुञ्ज शताब्दी पुरुष सत्यमोहन जोशी

 असोज ३०, २०७९ आइतबार ११:३६:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोमा रहेकाे किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भयाे । उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुगेका छन् । 

उहाँ काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध हुनुहुन्थ्यो । उहाँ लोक साहित्य, लोक संस्कृति,  संस्कृति, कला र कलाकार, पुरातत्त्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धानदाताका रूपमा स्थापित र प्रतिष्ठित हुनुहुन्छ ।

राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरिवेक्षक, सङ्ख्या विभागका सुपरिन्टेन्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्त्व र संस्कृति विभागका डाइरेक्टर बनी उहाँले उत्कृष्ट राष्ट्रसेवा गर्नुभएको छ।

उहाँले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापककारूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुभयो । संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका एकेडेमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उहाँ र उहाँको समूहको ठूलो योगदान रहेको छ । 

उहाँ अनेकौँ सङ्घसंस्थाका संस्थापक र सञ्चालक हुनुहुन्थ्यो । उहाँ राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाले अनेक सम्मान र  पुरस्कारबाट सम्मानित र पुरस्कृत, मानार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दी पुरुष सम्मानबाट सम्मानित हुनुहुन्थ्यो ।

उहाँले तीनपटक प्रसिद्ध मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहनुभयो । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्वको उहाँको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत हुनुहुन्थ्यो।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया