मेलम्चीको पानी यही महिना काठमाण्डौ उपत्यका ल्याउने तयारी

 कात्तिक ४, २०७९ शुक्रबार १५:१४:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै काठमाण्डाै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । 

स्थायी समाधान नहुँदासम्म बर्खामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गएको वैशाखमा पानी पुनः वितरण सुरु गरिएकोमा असारदेखि रोकिएको थियो । उहाँले भन्नुभयो, ‘यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।’ 

बर्खा सकिएकाले अस्थायीरूपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ । 

उहाँले भन्नुभयो, ‘सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।’ गएको वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्‍यायो । तुलनात्मकरूपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उहाँले बताउनुभयो । 

त्यहाँका संरचना सफा गर्नुपर्दैन भन्ने अनुमान गरे पनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताउनुभयो । गएको वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइए पनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरूपमा भए पनि पहुँच सडक बनाइने छ । 

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँच–पाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । त्यहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

आयोजनाको दीर्घकालीनरूपमा मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरूपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उहाँले भन्नुभयो, ‘पुल, सडक र संरचना बनाउँदा क–कसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।’

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलो पटक पानी काठमाण्डौ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको ज्यान गएको थियो ।  

त्यही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्‍यायो । सरकारले अस्थायीरूपमा पहुँच मार्ग निर्माण गरेर गएको वैशाखमा पुनः पानी पथान्तरण गरेको थियो । झन्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भए पनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो । 

काठमाण्डौ उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ । 

आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङ मार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङ मार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङ मार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । हेडवर्क सम्पन्न नहुँदै बाढीले क्षति पुर्‍याएको थियो ।  

सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडीबीले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सीएमसी फिर्ता भएको झन्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्‍यो ।  दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्‍यायो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया