नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

 कात्तिक ७, २०७९ सोमबार १६:६:२५ | रासस
unn.prixa.net

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

यसै हप्ता 'वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस; प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गएकाे जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आईएमएफले गएकाे जनवरीमा गरेको प्रक्षेपणअनुसार आउँदाे वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर अहिले त्याे प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन् २०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आइएमएफको सुरुवाती अनुमान थियो । तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ ।

पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस-युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ । 

आईएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन दशमलव दुई प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यस्तै २०२३ मा झन् खस्केर दुई दशमलव सात प्रतिशतमा झर्ने अनुमान गरिएको छ । जुन पछिल्लो दुई दशकयताकै सुस्त हो । 

विश्व मुद्रास्फीति दर यस वर्ष आठ दशमलव आठ प्रतिशत कायम हुने आईएमएफको अनुमान छ । सन् २०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया