उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

 कात्तिक ९, २०७९ बुधबार १२:४९:२० | रासस
unn.prixa.net

जाजरकोट – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भने पनि नुन भने पुगेको छैन । सरकारले उपल्लो डोल्पाका लागि नुनको कोटा निर्धारण गरेको छ । तर डोल्पामा भने विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।

उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ ।

तीनवटा गाउँपालिका रहेको यस उच्च हिमाली क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ । त्यसैले खाद्यान्न पुर्याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ । कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ ।

गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे–फोक्सुण्डो गाउँपालिकाकी प्रेम गुरुङले बताउनुभयो ।

‘यो वर्ष हिमपात सुरु भइसकेको छ, केही समयभित्र नाकाहरु पनि बन्द हुन्छन्,’ उहाँले भन्नुभयो, ‘वर्ष दिनदेखि ठेकेदारहरुले चामल नल्याएका कारण डिपोमा एक दाना चामल पनि छैन ।’

यस क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुन समेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो । 

यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाईमार्गमार्फत् आयोडिनयुक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन । नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा दुई सय क्विन्टल, सर्मी बिक्री केन्द्रमा दुई सय क्विन्टल र लिकु बिक्री केन्द्रमा दुई सय क्विन्टल नुन ढुवानी गर्ने भनी कोटा निर्धारण गरिएको थियो ।

पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमनका क्रममा तेन्जे नाकामा जथाभावी फालिएको अवस्थामा फेला परेको थियो । नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पावासी सर्वसाधारणले गुनासो गरिरहेको डोल्पोबुद्ध गाउँपालिका– ३ का पुटी गुरुङको भनाइ छ । ‘समय हुँदासम्म ढुवानी हुँदैन, पछि हिमपातले बाटो अवरुद्ध भएपछि बाटो बन्द भयो भन्दै खाद्यान्न ढुवानी गरिदैन । यो समस्या जहिले पनि रहन्छ,’ उहाँले भन्नुभयो । 

सरकारले सहुलियतमा उपलब्ध गराउने नुन र चामल आपूर्ति नहुँदा नागरिकहरुले सदुरमुकाम दुनै बजारबाट महँगोमा खरिद गर्न बाध्य भएका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया