ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

 कात्तिक १०, २०७९ बिहिबार ९:२९:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

ताप्लेजुङ – ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् ।

यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ ।

माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याइ भएको छ ।

अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन् ।

चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैँची खाएर क्षति गर्ने गर्छन् । त्यसैले चाडपर्व नभनी किसानले अलैँची थन्क्याउन व्यस्त रहन्छन् । अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी (बगान) मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताउनुभयो ।

दशैँ पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैँची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उहाँको भनाइ छ । यस्तै, फुङ्लिङ नगरपालिका वडा नम्बर  ६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताउनुभयो ।

घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली  जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो ।

जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया