तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन

 कात्तिक १०, २०७९ बिहिबार १५:५३:१४ | रासस
unn.prixa.net

पाल्पा – तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।

पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पुरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ ।

पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पुरानो संस्कार, संस्कृतिलाई अवलम्बन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुली बताउनुहुन्छ । उहाँले झन्डै तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालमा रहेका एक सय ३५ वटा गाईलाइ खुवाउनुभएको छ । 

‘हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातिनातिनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्’, पराजुलीले भन्नुभयो, ‘नयाँ पुस्ताले पुरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफैँ पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ ।’

परिवार, आफन्त, स्थानीयको साथमा पूजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको उहाँले बताउनुभयो । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागिता रहेको थियो । 

वैदिक परम्पराअनुसार गाईलाई खुसी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुसी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गाईलाई खुसी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दीनानाथ भण्डारी बताउनुहुन्छ ।

‘लक्ष्मीका रूपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ’, उहाँले भन्नुभयो, ‘यसो गरेमा कामधेनु गाई खुसी हुन्छिन् । हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।’

पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरूका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारीले बताउनुभयो ।

यसरी हरियो धान काटेर तिहारमा खुवाउने पुरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पुरानो संस्कृति ब्युँताउने र अबका सन्ततिले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया