कास्कीको सेती नदीमा पक्की मोटरेबल पुल निर्माणको काम सुरु

 कात्तिक १०, २०७९ बिहिबार १३:४:३७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – कास्कीको सेती नदीमा पक्की मोटरेबल पुल निर्माणको काम सुरु भएको छ । रातोपानीमा बन्न लागेको पुलले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्नेछ ।

पुल नहुँदा वडा नम्बर २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम थालिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

सेतीमा पक्की पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार हुने गरेको माछापुच्छ्रे वडा नम्बर २ सार्दिखोलाका पुष्पराज गौतमले बताउनुभयो । यसै वर्ष पुलको काम सकिए अर्को बर्खामा सहज हुने उहाँको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ सार्दिखोला र वडा नम्बर ३ घाचोक जोड्ने गरी गण्डकी प्रदेश सरकारको १० करोड ४३ लाख ५७ हजार रुपैयाँमा पुल निर्माण गर्न लागिएको हो ।

हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाण्डौसँग आउँदो साउनसम्म काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार पक्की मोटरेबल पुलको लम्बाइ ७० मिटर छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आइसकेको छ । वडा नम्बर ५ रिभान खहरेखोलामा पनि मोटरेबल पुल निर्माण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया