आलु, मकैको विकल्पमा किवी

 कात्तिक १०, २०७९ बिहीबार २०:३०:१८ | रासस
unn.prixa.net

फाइल तस्बिर

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ ।   

एक पटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुङ्गिन, वडा  नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

केही किसानले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । नागीका नविन राईले एक सय ५० वटाभन्दा बढी बिरुवा लगाएर यसको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिदेखि किवीको व्यावसायिक खेती भइरहेको उहाँले बताउनुभयो । 

आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको राईले जानकारी दिनुभयो । किवी प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा स्थानीय बजारमा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । ‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आउँदा दिनमा बजारीकरणसमेतमा थप सहजता हुने आशा बढेको छ’, उहाँले भन्नुभयो ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका एकराज विष्टले पनि किवीको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । विष्टले झन्डै सात रोपनी क्षेत्रमा गएको वर्षदेखि किवी खेतीको विस्तार थालेको बताउनुभयो । विष्टले भन्नुभयो, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्यबालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किवीको खेतीमा लागेको हुँ ।’

किवी खेतीबाट सोचेजस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिलो पटक खेती विस्तार गर्ने किसानले कृषि प्राविधिक अथवा अनुभवीको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । किसान विष्टले भन्नुभयो, ‘खास गरेर किवीको बिरुवा हिउँद महिना अर्थात् पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा विस्तार गर्नुअघि तीनदेखि चार फिट गहिराए र त्यही बराबरको चौडाइमा प्राङ्गारिक मल कुवाएर लगाएमा राम्रो फस्टाउँछ ।’ 

उत्पादित किवीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानको भनाइ छ । ‘किवी किसानको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सजिलै आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्री वितरण गर्न खासै समस्या छैन’, किसान विष्टले भन्नुभयो ।

अर्का किसान रत्नबहादुर विष्टले भन्नुभयो, ‘किवीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि एक सय ५० किलोसम्म फलाउन सकिन्छ ।’ यसबाट वर्षमा चारदेखि पाँच लाख रुपैयाँसम्म कमाउन सकिने युवा बताउँछन् । किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया