दिउँसो व्यापार, बिहान र बेलुका चुनावी प्रचार

 कात्तिक १०, २०७९ बिहिबार १८:५९:५२ | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा लाग्नुभएको लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ ।

हरेक दिन बिहान र बेलुका चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहाँ दिउँसो भने व्यापार सम्हाल्नुहुन्छ । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहनुभएको छ ।

उहाँ आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभाको चुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार हुनुहुन्छ । 

रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उहाँको चुनावी प्रचारप्रसार शैली पनि छ । उहाँ एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै बस्ती–बस्तीमा पुग्नुहुन्छ । प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्नुहुन्छ । 

‘चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छ’, रावलले भन्नुभयो, ‘यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।’

‘मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइन’, रावलले भन्नुभयो, ‘मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।’

वर्षौँदेखि सामान्य व्यापारमा संलग्न उहाँ राजनीतिमार्फत गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ । ‘म
आफैँ पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु’, उहाँले भन्नुभयो, ‘मैले पाएको दुःख अरूले नपाउन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।’

रावलका प्रतिस्पर्धीमा नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट, नेकपा एमालेका बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा (नेपाल) का जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया