नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

 कात्तिक १२, २०७९ शनिबार १०:४९:४५ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा यस नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरुको भिड नै लाग्न थालेको छ । 

यसवर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो । उहाँले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको अध्यक्ष  जानकारी दिनुभयो । 

२०७६ सालमा एउटाबाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।

यस्तै, साना मोटर बोटमा ६ देखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ र  लामो दूरीमा प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ । त्यहाँबाट उठेको रकमको  २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताउनुभयो । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।

नदी किनारमा घुम्न आउने प्रायजसाे आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालीका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया