मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

 कात्तिक १२, २०७९ शनिबार ११:३३:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

धनुषा - मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भइ १० दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई  विसर्जन गरिन्छ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् ।

आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारेर विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् । सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरुले सामा चकेवा खेल खेल्छन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरु गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

एघाराैँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा  बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबाटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर  बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन् ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीहरुले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका  दिदीबहिनीहरु पनि माइत जाने गर्दछन् ।

अन्य पर्वजस्तै  भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस  पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरुका लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीहरुसँग मनाउने गर्दछन् ।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको  महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व लोकप्रिय  बन्दै आएकाले   हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनपूर्व (आज) देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरुले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानीहरु बढी उत्साहित हुने गर्दछन् भने उमेर नाघेका महिलासमेत पर्वको रमझममा हराउन पुग्छन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया