दार्चुला घटना : नेपालले भारतलाई कुटनीतिक 'नाेट' पठायाे

 कात्तिक १३, २०७९ आइतबार १७:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतकाे उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको ज्यान गएको घटनाकाे सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आज आइतवार काठमाण्डाैमा रहेकाे भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे । गृह मन्त्रालयले हिजाे शनिवार यस घटनाकाे पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।

नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख भारतीय रुपैयाँ अर्थात् १६ लाख नेपाली रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । 

यही कात्तिक ११ गते उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न विस्फाेट गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने ठाउँकाे गोरेटो बाटो छेउ खर्क नजिकको ठाउँमा त्यही वडाकाे दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भइ ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया