प्रदेश सरकारका अधिकारमा संघीय सरकारले अतिक्रमण गर्‍याे : मुख्यमन्त्री पौडेल

 असोज १६, २०७५ मंगलबार १७:४५:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघीय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ ।

तीन नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा संकलन तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै उहाँले प्रदेशका अधिकार संघीय सरकारले अतिक्रमण गर्दै गएको बताउनुभयो ।

जिल्ला स्तरमा रहने सीडीओ र एसपी संघीय सरकार मातहत भए पनि प्रदेश सरकारसँगको सहकार्य गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अवस्था भनेको संक्रमण कालको अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, ‘क्रसर उद्योग र नदीजन्य पदार्थको क्षेत्रमा प्रदेश सरकारले एउटा मापदण्ड बनाउँदैछौँ । तर यहीबेलामा घरेलु कार्यालयमार्फत संघीय सरकारले जिल्ला स्तरमा रहेका क्रसर उद्योगहरु बन्द गरिदिएको छ । अहिलेको अवस्थामा हामी संघीय सरकारसँग सहकार्य गरेर मापदण्ड बनाउनेछौँ ।’

मुख्यमन्त्री कार्यालयको आयोजनामा नदीजन्य पदार्थको व्यवस्थापनका सन्दर्भमा सुझाव दिनका लागि तीन नम्बर प्रदेशका ३२ वटा स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरु धेरैले क्रसर उद्योगलाई प्रश्रय दिनेगरी आफ्ना कुरा राखेपछि मुख्यमन्त्री पौडेलले यस्तो कुरा बताउनुभएको हो । 

प्रदेश सरकारले बनाएका कानुन र कार्यविधि नमान्ने भनेर केही स्थानिय तहले भनेकोमा आक्रोस ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘जसले प्रदेशको कानुन मान्दैन, उनीहरुका लागि प्रदेश सरकारले दिने अनुदान रोक्नेछौँ । प्रदेश सरकारले संविधानले दिएको भूमिका अनुसार कानुन निर्माण गरेको हो । प्रदेशभरी त्यो कानुन कार्यान्वयन हुनुपर्छ ।’ अहिलेको अवस्थामा तीन वटा सरकारबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा तीन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नदीजन्य वस्तु अब व्यवस्थित गर्नैपर्ने बताउनुभयो । नदीजन्य पदार्थको ओसारपसार, उत्खननमा अराजकता बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अब सबैको सुझावका आधारमा अगाडि बढ्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया