तिहारमा चितवनका एक किसानले बेचे ७ लाख रुपैयाँको सयपत्री

 कात्तिक १६, २०७९ बुधबार ९:४५:४३ | रासस
unn.prixa.net

चितवन – तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेच्नुभएको हो । 

गएकाे वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।”

यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उहाँ बताउनुहुन्छ । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उहाँले बताउनुभयो । फूल बिक्रीबाट सात लाख रुपैयाँभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिनुभयो ।

“मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो”, उहाँले भन्नुभयो, “केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उहाँले अझै  चार/पाँच लाख रुपैयाँको फूल बारीमा नै रहेको बताउनुभयो । “मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उहाँले भन्नुभयो । उहाँले १२ लाख रुपैयाँको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई  छ–सात लाख रुपैयाँ बचत हुने बताउनुभयो । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उहाँले तोरी लगाइसक्नुभएको छ ।

“यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उहाँले भन्नुभयो, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उहाँले २६ वर्षअघिसम्म काठमाण्डौमा पढाउने काम गर्नुभएको थियो । “काठमाण्डौमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उहाँले भन्नुभयो, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।” 

यसपालिको तिहारमा उहाँले एउटा मालाको एक सय रुपैयाँ मा बिक्री गर्नुभयो भने प्रतिकेजी चार सयमा बिक्री गरेको सुनाउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आउनुभएको छ । चितवनमा यो पेसा गर्नुभएको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उहाँले नौबिसेबाट पुष्प खेतीको सुरुआत गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरेँ, यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।” 

अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उहाँको भनाइ छ । “तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ”, उहाँले भन्नुभयो, “बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।”

हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब ५० हजार रुपैयाँ भए पुग्ने उहाँ बताउनुहुन्छ । “पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।”

यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुराबाहेक केही नभएको उहाँको भनाइ छ ।

बैसठ्ठी वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ । जो अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । उहाँ नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउनुहुन्छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया