चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

 कात्तिक १६, २०७९ बुधबार १८:४५:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आउँदो चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले  भन्नुभयो, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ 

बुटवलमा आज बुधवार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पालिका चुनाव सम्पन्न गर्न सबैको सहयोग रहेकाले आउँदो चुनाव पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने बताउनुभयो ।

उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने काममा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिनुभयो ।

‘सीमित स्रोत साधन भएर पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ’, गृहमन्त्री खाणले भन्नुभयो । सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आउँदो चुनावबारे छलफल हुने जनाइएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको प्रस्तुति रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया