दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे ?

 कात्तिक १६, २०७९ बुधबार १४:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ । चुनावमा भाग लिएका राजनीतिक दलहरू विभिन्न एजेन्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावका कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन् । यद्यपि घोषणापत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन् । 

आउँदाे चुनावमा पनि दलहरूले समावेश गरेका खेलकुदका एजेन्डाले सम्बोधन पाउन सक्लान् त ? प्रजातान्त्रिक अभ्यासको पाटो चुनावमा देश जाँदै गर्दा खेलकुद क्षेत्रलाई कसरी सम्बोधन गरिँदैछ भनेर त्यस क्षेत्रसँग जाेडिएका अधिकारीहरूले मूल्याङ्कन गर्न थालेका छन् । खेल र खेलाडीको प्रदर्शनबाट पनि देशले विश्वमा परिचय पाउने गरेको उदाहरण थुप्रै छन् । खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो । सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ । राजनीतिक कोर्सले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसला दिन्छ भन्ने सबैको चासो रहन्छ । दलहरूले धमाधम घोषणापत्रमा मतदातासमक्ष जाने एजेन्डा बनाइरहँदा खेलकुदले पनि स्थान पाएकाे छ । खेलकुद पनि अभिन्न पाटो भन्दै त्यस क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण र खेलाडीको हपतको विषयमा पनि घोषणापत्रमा बुँदा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस

सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले क्षेत्रगत प्राथमिकतामा समवेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेन्डालाई अगाडि सारेको छ । नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आउँदाे चुनावमा लागेको कांग्रेसले खेल पूर्वाधार निमार्ण तथा उचित संवद्धन गर्ने प्रतिबद्धता अगाडि सारेको छ । व्यवस्थापकीय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई प्राथमिकतामा राख्ने उल्लेख गरेको छ ।

नेकपा एमाले

'सुखी नेपाली समृद्ध नेपाल' को नारा अँगालेको नेकपा एमालेले पनि खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारलाई नै जोड दिएको छ । एमालले युवाको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने वाचा घोषणापत्रमार्फत गरेको छ । नेपाली खेलाडीले एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने गरी खेलाडीको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्ने पनि जनाएको छ । यस्तै खेलाडीको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजी गर्ने र धेरैभन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराइ अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र)

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले युवा तथा खेलकुदलाई सँगै समेटेको छ । १३ वटा बुँदा उल्लेख गरिएको शीर्षकअन्तर्गत खेलकुद क्षेत्र एक बुँदामा समेटेको छ । माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाइ आवश्यक आर्थिक सहयोगको प्रबन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना अगाडि सारेको छ । खास योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्टै देखिन्छ ।

नेकपा (एकीकृत समाजवादी)

सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ । नेपाली खेलकुदमा पूर्वाधार कमजोर भएको अवस्थालाई समेट्दै पूर्वाधारलाई जोड दिएको औँल्याउन सकिन्छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणापत्रमा उल्लेख गरेको छ । साथै खेलाडीलाई प्रोत्साहित गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्रबाट सम्मान गर्ने जनाएको छ । हरेक पालिकामा खेलकुद गतिविधिसहित रङ्गशाला र खेल मैदान निर्माण गर्ने विषयमा जोड दिएको छ । सँगै प्राथमिक तहदेखि महाविद्यालयसम्म खेलकुदसम्बन्धी कार्यक्रममा विद्यार्थीलाई समावेश गराउने तथा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेन्डा अगाडि सारेको छ । खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र पालिका स्तरमा आवश्यकताको आधारमा रङ्गशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेन्डा बनाएको छ । त्यस्तै स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षणको प्रबन्ध मिलाउने, अक्षय कोषको व्यवस्था गरी खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने जनाएको छ ।

नेपाल समाजवादी पार्टी

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवालाई प्रोत्साहनमूलक कार्यक्रमहरूको व्यवस्था गर्ने र खेलकुदसम्बन्धी कार्यक्रमहरूको प्रवर्द्धनमा विशेष ध्यान दिने नीति लिने आउँदाे चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरेको छ ।

नेपाली राजनीतिमा शीर्ष दलको परिचय पाएकाका साथै अन्य साना दलहरूले पनि खेलकुदका विषय कतै कतै जोडेका छन् । सबैको चासो पूर्वाधार नै रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया